बारा,साउन ३१ । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कदम नेपालले सञ्चालन गरेको हरियाली अभियान अन्तर्गत आज त्रिवेणी सामुदायिक वन तथा पार्क आसपासको क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न प्रजातिका करिब १०० वटा फलफूलका बिरुवा रोपिएको छ। त्रिवेणी क्षेत्रलाई हराभरा, स्वच्छ र आकर्षक बनाउनुका साथै वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले वृक्षारोपण गरिएको संस्थाले जनाएको छ।
वृक्षारोपण कार्यक्रममा नयाँ कदम नेपालका पदाधिकारी तथा सदस्यहरू, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेले गर्नुभएको थियो। अध्यक्ष पाण्डेले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारीसमेत भएको बताउनुभयो।
उहाँले एउटा बिरुवा रोप्नु भनेको केवल जमिनमा बिरुवा राख्नु नभई भविष्यका लागि स्वच्छ हावा, हरियाली वातावरण र प्राकृतिक सम्पदा निर्माण गर्नु भएको उल्लेख गर्नुभयो। वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
नयाँ कदम नेपालले आगामी दिनमा पनि विभिन्न स्थानमा वृक्षारोपण, वातावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
‘एक बिरुवा, उज्यालो भविष्य’ भन्ने सन्देशका साथ अघि बढाइएको यस अभियानले समुदायमा वातावरण संरक्षणप्रति सकारात्मक सोच र जिम्मेवारीको भावना विकास गर्ने अपेक्षा गरिएको छ।